नियम १०७
फैसला वा अन्तिम आदेश
(१) मुद्दाको सुनुवाई भएको दिन सम्बन्धित पक्ष र कानून व्यवसायीहरूको भनाई र बहस जिकिर समाप्त भएपछि इजलासले निर्णय गर्नु पर्नेछ।

तर इजलाससमक्ष पेस भई छलफल भएको कुनै मुद्दामा इजलासमा बस्ने न्यायाधीशहरूको बीचमा अझ विचार विमर्श गर्नु पर्ने भई वा मुद्दाको जटिलताका कारणले उसै दिन निर्णय सुनाउन नसकिने भएमा फैसला सुनाउनको लागि इजलासले पन्ध्र दिनसम्मको अर्को तारिख तोक्न सक्नेछ।

(२) उपनियम (१) बमोजिम निर्णय गर्दा प्रचलित कानून बमोजिम सजाय निर्धारणको लागि छुट्टै सुनुवाई गर्नु पर्ने,भएमा सो प्रयोजनको लागि पेसी तारिख तोक्नु पर्नेछ।

(३) उपनियम (१) बाँ (२) बमोजिमको निर्णय राय किताबमा लेखी निर्णय गर्ने न्यायाधीशले दस्तखत गरी सो निर्णय उपस्थित रहेको पक्षलाई सुनाई निजको सहीछाप गराउनु पर्नेछ।

(४) निर्णय पश्चात कानूनले तोकेको अवधिभित्र फैसला लेखी निर्णय गर्ने न्यायाधीश वा न्यायाधीशहरुले सहीछाप गरी मिसिल संलग्न गराउनु पर्नेछ।